नियम ११
धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेण्टी फुकुवा हुने
(१) ऐनको दफा १३ बमोजिम कुनै इजाजतपत्र रद्द भएमा इजाजतपत्रवालाले त्यस्तो इजाजतपत्र लिंदा राखेको धरौटी रकम फिर्ता पाउन वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा कसैलाई कुनै रकम तिर्न बुझाउन बाँकी रहे नरहेको व्यहोरा समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा विभागले त्यस्तो इजाजतपत्रवालाले पाएको इजाजतपत्र रद्द भै निजले राखेको धरौटी रकम फिर्ता गर्न वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न माग हुन आएको व्यहोरा जनाई त्यस्तो इजाजतपत्रवालाले रोजगार बापत कसैबाट सेवा शुल्क वा कुनै रकम लिई वैदेशिक रोजगारमा नपठाएको भए त्यस्तो सेवा शुल्क वा रकम फिर्ता लिन सबूत प्रमाण सहित दावी गर्न आउनु भनी पंैतीस दिनको म्याद दिई कम्तीमा दुईवटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा तथा आवश्यकता अनुसार अन्य सञ्चार माध्यमद्वारा सूचना प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रकाशित वा प्रसारित सूचनाको म्यादभित्र कसैको दावी पर्न आई सो दावी उपर जाँचबुझ गर्दा इजाजतपत्रवालाले वैदेशिक रोजगारका लागि रकम लिई वैदेशिक रोजगारमा नपठाएको प्रमाणित भएमा विभागले इजाजतपत्रवालालाई त्यस्तो रकम सम्बन्धित व्यक्तिलार्ई पन्ध्र दिनभित्र फिर्ता गर्न आदेश दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको आदेशानुसार इजाजतपत्रवालाले रकम फिर्ता नगरेमा विभागले निजले राखेको धरौटी रकम वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरी उपनियम (४) बमोजिम दावी गर्न आउने व्यक्तिलाई रकम भराई दिनु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम प्रकाशित वा प्रसारित सूचनाको म्यादभित्र कसैको दावी नपरेमा वा दावी परी उपनियम (४) मा उल्लिखित म्यादभित्र त्यस्तो रकम इजाजतपत्रवालाले फिर्ता गरेमा विभागले बाँकी धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरी दिनु पर्नेछ ।
(७) इजाजतपत्रवालाको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट रकम फिर्ता दिलाउन नपुग भएमा त्यस्तो नपुग भए जति रकम सञ्चालकबाट प्रचलित कानून बमोजिम भराई दिनु पर्नेछ ।
(८) उपनियम (२) बमोजिम सूचना प्रकाशन वा प्रसारण गर्दा लाग्न गएको खर्च सम्बन्धित इजाजतपत्रवालाकोे धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरिनेछ ।